काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने जनाएका छन् ।
सोमबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताए । गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निश्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिए ।
‘भिजिट भिषा, भिजिट भिषालाई हामीले छोड्न चाहन्थ्यौं तर यो भिजिट भिषाले हामीलाई छोडेन । त्यसैले हामीले यसलाई पक्डीरहेका छौं । यो बारेमा म पनि आज केही कुरा राख्न चाहन्छु । भिजिट भिषा प्रकरण नेपालमा एक नयाँ मानव तस्करी काण्डका रुपमा देखापरेको छ । त्यसैले यो गम्भीर र रहस्यमय पनि काण्डको रुपमा देखापरेको छ । त्यसैले यसलाई माथिल्लो स्तरबाट छानविन गरिनुपर्छ भनेर हामीले माग गरेका छौं,’उनले भने.’यसै सन्दर्भमा माननीय गृहमन्त्रीज्यु इमान्दार हुनुहुन्छ, नैतिकवान पनि हुनुहुन्छ उहाँको नैतिकता र इमान्दारितामा हामीलाई विल्कुल शंका छैन । तर उहाँको मातहतमा रहेको अध्यागमन कार्यालयबाट जे जस्ता मानिसहरु त्यहाँ गएका छन् र उहाँको सचिवालयमा जे जस्ता मानिसहरु छन् ती सबै मानिसहरुको इतिहास हेर्दा विभिन्न प्रकरणमा डामिएका छन् । त्यस्तो मान्छे नै गृहमन्त्रीज्यूको छनोटमा किन पर्यो ? हाम्रो प्रश्न त्यही हो । हामीले गृहमन्त्रीले बदमासी गर्नुभएको छ भनिरहेका छैनौं । हामीलाई त्यस्तो लाग्दैन । हाम्रो यो चाहना पूरा होस् हामी चाहन्छौं । तर व्यवहारहरुले, तथ्यहरुले र घटनाहरुले त्यो पुष्टि गर्दैन । त्यसकारण आफू नैतिकवान र इमान्दार हुनुहुन्छ भनेर प्रमाणित गर्नका लागि पनि मार्ग प्रशस्त गरिदिनुपर्ने हुन्छ । यतिबेला प्रतिनिधिसभामा अलिकति गृहमन्त्रीको राजीनामाबाट थोरै पछि हटेर प्रतिपक्षका साथीहरु संसदीय छानविन समिति भएमा उहाँको राजीनामा माग नगर्ने भन्नेकुरा राखिरहनुभएको छ । यद्यपी त्यस विषयमा टुंगो नलागे पनि करिब करिव सहमति बनेको भन्ने चाहिँ हो । यदि त्यस्तो हो भने चाहीँ हामी त्यो कुरा छोड्न सक्छौं होइन भने उहाँले निश्चित रुपमा राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने हुन्छ ।’
उनले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पारे ।


