काठमाडौं । संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो ।
प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठक बसिरहेको जानकारी गराए । हिजो संसद् बैठक बस्न नसकेपछि बुधबार बिहान विपक्षी दलहरूको छलफल गर्ने नेताहरूले जानकारी गराएका थिए ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै हिजो विपक्षी दलले संसद् बैठक चल्न दिएका थिएनन् । रास्वपाले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको छ भने राप्रपाले छानबिन समितिको माग गरेको छ । भिजिट भिसा प्रकरणमा विपक्षीमा रहेका माओवादी केन्द्र र राप्रपा लचिलो देखिने संकेत पाएको सत्ता पक्षका एक नेताले जानकारी गराए ।