एजेन्सी । रियल म्यड्रिडका लागि आफ्नो अन्तिम खेलको अन्तिम सिट्टीसँगै प्रशिक्षक कार्लो एन्सेलोटीको आँखा रसाए। निकै भावुक भएका एन्सेलोटी जारी सिजन उपाधि विहिन बन्दै क्लब करिअर अन्त गर्न बाध्य भए।
यद्यपि शनिबार ला लिगाको अन्तिम खेलमा रियाल सोसिडाडलाई २-० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोट्टी र मिडफिल्डर लुका मोड्रिचको सुखद् बिदाइ गर्न टोली सफल रह्यो।
एन्सेलोटीले अब ब्राजिलको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने छन्। मोड्रिचले आगामी महिना अमेरिकामा आयोजना हुने क्लब विश्वकपपछि क्लब छाड्ने पक्का भएको छ।
सान्टियागो बर्नबेउको अन्तिम खेलले वातावरण निकै भावुक बन्यो। खेल सुरु हुनुअघि रंगशालामा एन्सेलोट्टी र मोड्रिचको ठूला पोस्टर देखाइएको थियो ।
क्रोएसियाली मिडफिल्डर मोड्रिचको नाम घोषणा हुँदा स्टेडियममा ठूलो तालीले समर्थकहरुले उनको बिदाइ गरेका थिए। खेलको १०औं मिनेटमा दर्शकहरूले उभिएर मोड्रिच, मोड्रिच भन्दै नाराबाजी गरेका थिए। ८७औं मिनेटमा उनी मैदानबाट बाहिरिँदा दुवै टोलीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएर बिदाइ गरे।
यसैगरी रक्षक लुकास भास्क्वेजले पनि रियल छाड्ने पक्का भएको छ। घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे।
जितसँगै रियालले ३८ खेलमा ८४ अंकका साथ दोस्रो स्थानमा रहेर लिगको अन्त गरेको छ। पराजित सोसिडाड समान खेलबाट ४८ अंकका साथ ११औं स्थानमा रह्यो।
खेलको ३८औं मिनेटमा एमबाप्पेको पेनाल्टी प्रहारलाई उनाई मारेरोले बचाएका थिए, तर रिबाउन्डमा गोल गर्दै एमबाप्पेले नै रियाललाई अग्रता दिलाए।
एमबाप्पलेले ८३औं मिनेटमा भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै रियाललाई सहज जित दिलाए। लालिगाको उपाधि भने तीन खेल बाँकी हुँदै बार्सिलोनाले जितेको थियो।