काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको रिटमा आज जाहेरीकर्ता पक्षले बहस सुरु गरेका छन् । सभापति लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशी र सरकारी वकिलका तर्फबाट बहस बीहिबार सकिएको थियो ।
आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गर्दै छन् । उनीहरुको बहस सकिएपछि निवेदकका तर्फबाट आजै जवाफी बहस हुने छ । रवि लामिछाने र छवि जोशीको पक्षबाट जवाफ बहस पछि आजै आदेश आउने उच्च सम्भावना रहेको छ ।
सहकारी प्रकरणमा उच्च अदालत तुलसिपुर बुटवल इजलासले लामिछानेलाई जिल्ला अदालतका रुपन्देहीको धरौटीमा छाड्ने आदेश उल्टाउँदै थुनामा पठाएको थियो ।
जोशीलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो । उच्च अदालतको आदेश आएको केहि मिनेटमा नै कानुनी प्रक्रियानै नपु¥याइ लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।
अदालतबाट थुनामा पठाउने आदेश भैसकेपछि पनि प्रहरीले भने उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने भन्ने पुर्जी दिएर पक्राउ गरेको थियो । पक्राउ गरेको चौँथो दिनपछि मात्रै उनलाई अदालत पेश गरेर कारागार पठाइएको थियो ।
प्रहरीले लामिछानेलाई ३ दिनसम्म ग्रैह कानुनी थुनामा राखेको भन्दै लामिछानेकी पत्नी निकिता लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । साथै उच्च अदालतको आदेश खारेजको माग गर्दै लामिछानेका तर्फबाट ७३ नम्बरको निवेदन पनि सर्वोच्चमा परेको थियो । बन्दी प्रत्यक्षीकरणमा रिटमा जतिसक छिटो आदेश गर्नुपर्ने भएपनि हेर्न नमिल्ने न्यायधिशको इजलासमा परेको भन्दै ६ पटकसम्म सुनुवाई रोकिएको थियो ।
मंगलबारबाट न्यायाधिशदोय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई भैरहेको छ । ३ दिनको सुनुवाई पछि आज आदेश आउन सक्ने देखिएको छ ।
सर्वोच्चले रवि लामिछानेको हकमा उच्चको आदेश बदर गरेको खण्डमा लामिछाने थुनामुक्त हुने छन् । यस्तै छविलाल जोशीको हकमा जिल्ला र उच्च दुवैको आदेश बदर भएको खण्डमा थुनामुक्त हुने छन् ।