काठमाडौं । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा लफडा भएको छ ।
नेपाल समाजवादी पार्टी(नेसपा नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा भएको हो ।
कार्यक्रममा बोल्दै डा.भट्टराईले विवादास्पद अभिव्यक्ति दिएपछि द्वन्द्वपीडितहरुले आपत्ति जनाएका थिए । भट्टराईले माओवादी युद्धमा भएको हताहतिलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनले अन्य देशमा ठुला क्रान्ति हुँदा द्वन्द्व हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपीडितहरु आक्रोशित भए ।
उनको अभिव्यक्तिपछि आफूलाई द्वन्द्वपीडित बताउने सहभागीले प्रश्न गर्दै भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नु भयो के नेपालमा अझै मान्छे मर्नु पर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ?’
त्यसपछि डा.भट्टराई कार्यक्रमस्थलबाट बाहिरिएका हुन् ।