जानकी पाण्डे
नेपालमा केही दशकयता विदेशतर्फ युवाको पलायन डरलाग्दो रुपमा देखिएको छ । विशेषगरी रोजगारीका लागि खाडी तथा अन्य देशतर्फ लाग्ने युवाको संख्या वर्षेनि बढिरहेको छ । यसका साथै शिक्षाका लागि भनेर पनि ठूलो संख्यामा युवा वर्ग विकसित देशहरुमा गइरहेका छन् । युरोपका देशहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र अमेरिका लगायत देशमा जान त युवाहरु जुनसुकै उपाय अपनाउन पनि पछि पर्दैनन्, चाहे त्यो अवैध नै किन नहोस् ।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ मा मात्र आठ लाख ५६ हजार चार सय २२ नेपाली रोजगारीको खोजीमा भारतबाहेक तेस्रो देश गएका छन् । भारतमा जानेको संख्या पनि त्यस्तै डरलाग्दो छ । त्यसैगरी सोही अवधिमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न देश जानेको संख्या सन् २०२४ मा एक लाख १३ हजार एक सय नौ जना रहेको अध्यागमन विभागको तथ्यांक छ । नेपालमा रोजगारीको अवस्था नभएको, कामअनुसार तलब नभएको, महंगी, छोराछोरीको भविष्यका लागिलगायतका कारण देखाउँदै उनीहरु विदेश जाने गरेको विज्ञहरुको टिप्पणी छ ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या किन बढिरहेको छ त ? यसको एउटै उत्तर हो, बेरोजगारी । देशमा पटकपटक व्यवस्था परिवर्तनका लागि संघर्ष र संविधान निर्माण भए पनि युवामा भने आशा जगाउन सकेको छैन । न त नयाँ बनेका सरकारहरुले देशको बेरोजगारीको समस्या सल्टाउन सकेका छन् । वर्षेनि नेपाली बजारमा लाखौं युवा रोजगारीका लागि योग्य हुन्छन्, तर तीमध्ये केही हजारले मात्र रोजगारी पाउँछन् । यहाँ रोजगारी पाउनका लागि पनि ठूलो प्रतिस्पर्धा छ । त्यसमाथि पाएको रोजगारीमा पनि सन्तोषजनक पारिश्रमिक छैन ।
अर्कोतर्फ ठूलो संख्यामा अदक्ष युवा छन्, जसलाई दक्ष बनाउने वा रोजगारी दिनेतर्फ सरकारले कुनै काम गर्न सकेको छैन । त्यसकारण अशिक्षित, अर्धशिक्षित, अदक्ष, अर्धदक्ष युवाको ठूलो संख्या मलेसिया, साउदी अरब, कतार, युएई जस्ता देशमा कामका लागि पुग्ने गरेको छ । यस्तै, शिक्षाका लागि विकसित देशमा पुग्ने युवाको लक्ष्य पनि त्यहाँ देशमा नै बस्ने हुने गरेको छ । नेपालमा रहेका शिक्षित व्यक्ति पनि विभिन्न माध्यमबाट युरोप, अस्ट्रेलिया, अमेरिका र क्यानडा लगायत देशमा पलायन हुने क्रम बढ्दो छ ।
युवालाई देशमा नै केही गर्ने वातावरण सिर्जना गर्न नसकेको सरकारप्रति बढ्दो निराशा पनि पलायनको अर्को कारण हो । दुई दशकयता नेपालको राजनीतिलाई हेर्ने हो भने अधिकांशले यसप्रति वितृष्णा नै जनाएका छन् । देशमा भयावह भइरहेको भ्रष्टाचार, राजनीतिक दलको खिचातानी, दण्डहीनता, सरकारको अकर्मण्यता, दायित्व पालनामा असफलताका कारण पनि युवा देशमा कुनै सुधार हुननसक्ने निष्कर्षमा पुग्दै विदेशिरहेको तीतो यथार्थलाई हामी सबैले स्वीकार गर्नै पर्छ ।
देशमा नै केही गर्न खोज्ने युवा पनि यहाँको अव्यवस्था, सरकारी निकायमा काम गराउन घूस दिनुपर्ने बाध्यता, सरकारी ढिलासुस्ती, राजनीतिक तथा स्थानीय गुण्डाको चन्दा आतंक, खुट्टा तान्ने प्रवृत्तिका कारण आहत हुँदै आएका छन् । उनीहरु पनि अन्ततः देशमा केही गर्न नसकिने भन्दै पलायनको बाटो रोजिरहेका छन् ।
युवा बहुल अवस्थाबाट नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनमध्ये नेपालमा बुढ्यौलीको अवस्थासम्बन्धी प्रतिवेदन यही वैशाखमा सार्वजनिक गर्दै नेपालको जनसंख्या तीव्र रूपले बुढ्यौलीतर्फ प्रवेश गरेको देखाएको हो । प्रतिवेदन अनुसार अबको ३० वर्षपछि अर्थात् विसं २१११ सम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ ।
जन्मदर र मृत्युदर घटिरहेको अवस्थामा नेपालको जनसंख्या पनि संक्रमणकालतर्फ तीव्र रूपले प्रवेश गरिरहेको कार्यालयको अध्ययनले देखाएको छ । यसका लागि कार्यालयले केही तुलनात्मक तथ्यांक पनि प्रस्तुत गरेको छ । जस अनुसार ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसंख्या २०६८ सालको ८.१ प्रतिशतबाट २०७८ सालमा १०.२ प्रतिशतमा बढेको छ । वृद्ध व्यक्तिको जनसंख्या २०४८ सालदेखि लगभग तीन गुणा बढेको पनि प्रतिवेदनले देखाएको छ । कार्यालयले ६० वर्षभन्दा माथिको उमेर समूहलाई बुढ्यौली अवस्थाका रूपमा गणना गरेको छ । बुढ्यौलीको देश बन्नुका पछाडि जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको पनि प्रतिवेदनले देखाएको छ । बालबालिका र काम गर्ने उमेर समूहको जनसंख्या पनि घट्दै जाँदा आश्रित जनसंख्याको अनुपात पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
युवा रित्तिँदै जाँदा देश भने बालबालिका र वृद्धवृद्धा बस्ने थलो मात्रै बन्दै गएको छ । कुनै पनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको युवाशक्ति हो । तर, त्यही युवाशक्ति अहिले हामीले गुमाउँदै गएका छौं । युवाको संख्या धेरै भएको बेलामा नै धेरै देशले विकासमा फड्को मारेका छन् । तर, नेपालको युवाशक्ति भने अन्य देशको विकासमा नै प्रयोग भइरहेको छ । त्यसकारण विकासको एउटा मुख्य आधार युवालाई नै पलायनको बाटोमा धकेलेर देशमा समृद्धि ल्याउँछु भन्नु दिवास्वप्ना मात्र हो । त्यसकारण सबै राजनीतिक दल तथा सरकारले युवालाई कसरी देशमा नै टिकाउने र उनीहरुलाई रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा नीति तथा योजना ल्याउनेमा जोड दिन आवश्यक छ । जनधारणा साप्ताहिक