काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण यही मंगलबारदेखि फ्रान्सको दक्षिणी सहर कान्समा आयोजना हुँदैछ।
मे १३ देखि २४ तारिखसम्म हुन लागेको फेस्टिभलमा सहभागी हुन विश्वभरबाट कलाकार, निर्देशक, निर्माता तथा वितरकहरु कान्समा भेला भइरहेका छन्।
यस वर्ष कान्स फेस्टिभलको प्रतिस्पर्धामा कुनै नेपाली चलचित्र छनोट नभए पनि नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित चलचित्र ‘एक्लो’को फेस्टिभलमा स्टल राखिने भएको छ। जहाँ चलचित्रको टिमले अन्तर्राष्ट्रिय वितरकहरुलाई टिजर र छायांकनका दृश्य देखाउँदै विश्वव्यापी वितरणबारे छलफल गर्नेछ। यो फेस्टिभलमा पहिलो पटक नेपाली चलचित्रकाे स्टल राखिन लागिएको हो।
‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा ‘एक्लो’ ले स्टल नै खडा गरेर चलचित्रलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो।स्टलमा नेपालको झण्डा राख्ने तयारी छ भने निर्देशक प्रदीप शाही स्वयं प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन्।
फेस्टिभलको प्रोड्युसर्स नेटवर्कमा छानिएका निर्देशक शाही आइतबार फ्रान्सको राजधानी पेरिस पुगिसकेका छन् भने निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट र बजारीकरण प्रमुखको रुपमा फिल्मकी को-अपरेटिभ डिरेक्टर रिश्ता कार्की कान्स मार्केटमा सहभागी हुनेछन्। फेस्टिभलमा फिल्मको स्टल राख्न निर्माताले ५० लाखभन्दा बढी खर्च गरेका छन्।
यस वर्षको फेस्टिभलमार्फत नेपाल र ‘एक्लो’लाई कनेक्ट गर्न खोजेको निर्देशक शाहीले जनाए।कान्समा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ। नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने र सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन् ।
यस वर्ष प्रदर्शनको लक्ष्य राखिएको फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपालीसहित बेलायती कलाकार जेमी बेकन लगायतको अभिनय छ। फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ। भीएफएक्ससहित ‘एक्लो’को बजेट ६ करोड पुगेको जनाइएको छ।
कान्स मार्केटमा १४० देशका १४,००० भन्दा बढी सहभागी हुने जनाइएको छ जहाँ, १,५०० फिल्मको प्रदर्शन र ४,००० प्रोजेक्ट पिच हुनेछन्।