काठमाडौं । पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीको असफलताको भारी शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजेको टिप्पणी गरेका छन् ।
शिक्षामन्त्री राजीनामा पछि मंगलबार बिहान सामाजिक सञ्जालमा सांसद खनालले चालकको असफलताको भारी सहचालकलाई बोकाउन खोजिएको भन्दै टिप्पणी गरेका हुन् । साथै उनले शिक्षक माग पुरा गर्न अर्थमन्त्री र प्रधानमन्त्रीलेनै सहयोग नगरेर शिक्षामन्त्रीलाई बलिको बोको बनाइएको समेत टिप्पणी गरेका छन् ।
आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका नभएको र समाधान अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नभएको खनालले लेखेका छन् । उनले लेखेका छन्,’आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ। अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना संभव नै छैन। तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा बलिको बोकोू शिक्षा मन्त्रीलाई बनाइँदै छ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्। ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो’।


