काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरू महानगर प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध उत्रिएका छन्। चैत्र २१ गतेको घटनालाई लिएर कर्मचारीहरू बालेनविरुद्ध उत्रिएका हुन्।
२१ गते महानगरमा फर्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रमुख बालेनले नगरप्रहरी खटाएका थिए। नगरप्रहरीको अवरोधका बीचमा वडाध्यक्ष तथा कर्मचारीको बलमा गुरागाईं कार्यकक्षमा प्रवेश पाएका थिए।
प्रमुख प्रशासकीय अधिकृतलाई रोकेको विषयमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे र बालेनका प्रमुख स्वकीय सचिवमाथि छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन्।
बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउँदै प्रहरी बलका प्रमुख पाण्डेमाथि छानबिन गर्न तीनदिनभित्र छानबिन समिति बनाउन माग गरेका छन्।
उनीहरूले भनेका छन्– ‘चैत्र २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाइ दोषीलाई हदैसम्मको कारबाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’
यस्तै, बालनेका प्रमुख स्वकीय सचिव भूपदेव शाहलाई कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।
‘२१ गतेको घटना पछि प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनाधिकृत ढङ्गले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुखज्यु, वडाध्यक्षज्युलगायतका सम्मानित व्यक्तिहरुसमेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरेको हुँदा निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरियोस्,’ ज्ञापन पत्रमा भनिएको छ।
यस्तो छ ज्ञापन पत्र





