काठमाडौं । ‘मिस्टर टिन युनाइटेड नेसन्स नेपाल–२०२५’ को विजेता मृनल श्रेष्ठ बनेका छन् ।
हालै सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य उक्त प्रतियोगिताबाट अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस्टर टिनको पहिलो उपाधि श्रेष्ठले हात पर्न सफल भएका हुन् । यस्तै, ‘मिस टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि आँचल गिरीले जितेकी छन् । विजेता दुवैले अमेरिकाको फ्लोरिडा राज्यमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता युनाइटेड नेसन्स प्याजेन्टस् २०२५’मा सहभागी हुन पाउने जनाइएको छ ।
विजेता आँचल र मृनलले ६/६ लाख रुपैयाँ नगदका साथै प्रमाणपत्र सहित सम्मानित भएका छन् । विगत लामो समयदेखि आयोजना हुँदै आएको यो सौन्दर्य कार्यक्रम मोडलिङमा चासो राख्नेहरूका लागि निकै लोकप्रिय छ ।
यस प्रतियोगिताले किशोर, किशोरीहरूको नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहित गर्दै नेपालमा एक सकारात्मक सन्देश फैलाउन मद्दत गर्दै आएको छ ।
शीर्ष उपाधि जितेका मिस्टर टिन मृनल श्रेष्ठ आफू निकै खुसी रहेको बताउँदै अन्य प्रतिस्पर्धामा पनि सक्रिय सहभागिता जनाई विजेता बन्ने विश्वास व्यक्त गरे । निर्णायकमा युनाइटेड नेसन्स प्याजेन्टस्का तर्फ अमेरिकाबाट नेपाल आएका लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट, फेसन फोटोग्राफर सन्जय रौनियार र गायिका रेखा शाह थिए ।
यसैगरी, स्मार्ट गफ आयोजक रहेको प्रतियोगिताको राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र इभेन्ट निर्देशक रमेश शाही रहेको बताइएको छ । यो प्रतियोगिताले व्यक्तित्व क्षमता प्रदर्शन गर्ने, समाजमा सकारात्मक प्रभाव पार्ने र आत्मविश्वास निर्माण गर्ने अवसर प्रदान गर्नमा निकै सहयोग पुर्याउने आयोजक टिमले जनाएको छ ।