काठमाडाैं । गत शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेतालगायत ११ जनाविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान अहिले जारी रहेकाे छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र र सांसदसमेत रहेका राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणा शुक्रबार राति नै पक्राउ परेका थिए । करोडौँको निजी तथा सरकारकारी सम्पत्तिमा क्षति तथा दुई जनाको मृत्यु हुने गरी राजावादीको तीनकुने प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि पक्राउ परेकाहरूविरुद्ध प्रहरीले राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।
उनीहरूलाई हिरासतमा राखी अनुसन्धान गर्न आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीहरूमाथि लगाउन थालिएको कसुर निकै कडा प्रकृतिको हो । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
यो दफाको उपदफा १ मा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन दिन हुँदैन’ भनिएको छ । यो कसुर गर्नेमाथि २५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।