काठमाडौं । जी मोटर्सले स्काईवेलको सुविधा सम्पन्न फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नक्सालमा स्काईवेलको फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको हो ।
चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन माहमहीम बाद जीन् ले उक्त शोरुमको उद्घाटन गरेका छन् । साथै, शोरुम उद्घाटन कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस छु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्सका अध्यक्ष दुर्गाप्रसाद गेलालको पनि उपस्थिति रहेकाे थियो ।
योसँगै स्काईवेलका नेपालमा पाँच वटा शोरुम पुगेको छ । चिनियाँ ब्राण्ड स्काईवेलले विश्वका ६५ भन्दा बढी देशमा गाडी बिक्री गर्दै आएको छ । विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ जी मोटर्सले बिक्री गर्छ ।
स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स आईन्ट स्काई वर्षको ब्राण्ड हो । भक्तपुरको राधेराधेमा पहिलो शोरुम खोलेर नेपालमा जी मोटर्सले स्काईवेलको प्रिमियम एसयूभी गाडी बिक्री गर्न शुरू गरेको थियो ।

नेपाली बजारमा भित्रिएको एक वर्षभित्रमै राम्रो ब्राण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले हालसम्म १०० भन्दा बढी एसयूभीहरू बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए । स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र बिक्री पछिको गुणस्तर सर्भिस रहेको बताइएको छ ।
‘हामी बिक्री पछिको सेवालाई मध्यनजर गर्दै गाडी बिक्री गरिहरेका छौं, दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्ने छैनौं, तर बजारमा ईभीलाई बुझेर मात्र किन्न मेरो सुझाव छ,’ उनले भने ।
यस्तै, जी मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेल प्रिमियम एसयूभी ब्राण्ड भएता पनि यो गाडी आमग्राहकको रोजाइमा परेको बताए । ‘स्काईवेल छोटो समयमै आफ्नो बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेको छ, आगामी दिनमा थप नयाँ शोरुमका साथै नयाँ मोडलका गाडी पनि सार्वजनिक गर्दै जानेछौं,’ उनले भने ।
कम्पनीका अनुसार स्काईवेल इटी फाईभको मूल्य एक करोड १५ लाख रूपैयाँ पर्छ । साथै, कम्पनीले ‘स्काईवेल बीई ११’ पनि शोरुम उद्घाटनको क्रममा अनावरण गरेको छ । नाडा अटो शोबाट बिक्री सुरु भएको उक्त गाडीमा ५१.९२ र ७१.९८ किलोवाट आवर ब्याट्रीको विकल्पमा उपलब्ध छन् ।
कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज भएको उक्त यसयूभी गाडीको मूल्य ७९ लाख ९० हजार रूपैयाँ रहेको कम्पनीको भनाई छ । यस्तै, स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो यसयूभी पनि नेपाली बजारमा चाँडै आउने कार्यकारी निर्देशक गेलालले जानकारी दिए ।
स्काईवेलका गाडीमा विशेषगरी उत्कृष्ट फिचर समावेश भएकाले यी गाडीहरू नेपाली ग्राहकको रोजाइमा पर्दै आएका छन् । यो अवस्थासम्म स्काईवेलका दुई वटा सर्भिस सेन्टर पनि सञ्चालनमा आइसकेको जी माेटर्सले जानकारी दिएको छ।