काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान पुनः सुरु गर्ने भएको छ । राजावादीहरूको सक्रियता बढेको भन्दै अभियान स्थगित गरेर राजधानी काठमाडौं केन्द्रित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः तराई–मधेश जान लागेका हुन् । अभियान चैत ७ गते बिहीबार सुरु हुँदै छ ।
पूर्वनिर्धारित कार्यतालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाइँदै छ । रोकिएको अभियान बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । अभियान ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवन पुग्नेछ । चितवनबाट अध्यक्ष प्रचण्ड फेरि काठमाडौं फर्किनेछन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थक राजावादीहरूले स्वागत गरेको विरोधमा माओवादी सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोधसभा गर्दै छ । अभियानमा अध्यक्ष प्रचण्ड, उपमहासचिवसम्म पार्टीका नेताहरू सहभागी हुँदै छन् । माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको थियो ।
अबको कार्यक्रम लगातार गर्नेभन्दा पनि बीचबीचमा ब्रेक गरेर सञ्चालन हुने माओवादीका उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए । अभियान बीचैमा स्थगित हुँदा बाहिर गलत सन्देश जानेबारे पार्टीले समीक्षा गरेको उनले बताए । ‘केन्द्रीय नेतृत्व जिल्लाको अभियानमा केन्द्रित हुँदा काठमाडौंको राजनीतिमा भूमिका खेल्न नसकिने रहेछ । अब पहिलेको जस्तो निरन्तर अभियान हुँदैन । बीचबीचमा ब्रेक गरेर सञ्चालन गर्नेगरी तयारी गरेका छौं । चितवनसम्मको अभियान चलाएर फेरि काठमाडौँ फर्किनेछौँ । अभियान स्थगित हुँदा बाहिर गलत म्यासेज गएको छ । यी सबैलाई व्यवस्थापन गरी अगाडि बढ्नेछौं,’ यादवले भने ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले नेपाली राजनीतिमा कोर्स करेक्सनको बहस थालेका छन् । केही दिनअघि आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले शासकीय स्वरुप र निर्वाचन प्रणाली नै बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने जनाएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ थियो ।
यसअघि अभियानका क्रममा प्रचण्डले विगतमा पार्टी जनतातर्फ नफर्कनु कमजोरी भएको उल्लेख गर्दै अब गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्दै हिँडेका थिए । ‘विगतमा जनतालाई बेवास्ता भाएकै हो । अब हामी जनतासँग फर्किन अभियानमा आएका छौं,’ उनले सभामा भन्दै आएका थिए । अभियानका क्रममा प्रचण्डले आक्रोश, प्रश्न र गुनासोको सामना गर्दै हिँड्नु परेको थियो ।
प्रचण्डले पुराना पार्टीको रोग आफ्नो पार्टीमा पनि लागेको बताएका थिए । धनुषाको हंसपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएको बताएका हुन् । उक्त रोगको उपचार खोज्न माओवादी अहिले जनताबीचमा गएको पनि उनको भनाइ छ ।
माओवादीप्रति विश्वास गरेका लाखौं जनताको विश्वास कायम राख्न नसक्नु पार्टीको कमजोरी भएको पनि अध्यक्ष प्रचण्डले बताएका थिए । आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको उनको भनाइ छ । सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको पनि उनले बताएका थिए ।
तर, प्रतिपक्षमा पुगेपछि जनताको याद आउने प्रचण्ड एक्ला राजनीतिज्ञ होइनन् । अन्य दलका नेता पनि प्रतिपक्षमा पुगेपछि जनतालाई
सम्झने गर्छन् । त्यसैले सत्ता बाहिर भएर प्रचण्डले गर्ने प्रतिबद्धता सत्तामा पुग्दा कति कायम रहला भन्ने प्रश्न नै अभियानको क्रममा देखिएको छ ।
नेताहरुको गल्ती र कमजोरीका कारण माओवादीको विरासत गुम्ने अवस्थामा पुगिसकेको छ । सत्तामा पुगेर पनि देश र जनताका लागि योगदान दिन नसक्दा माओवादीले जनताको विश्वास पनि गुमाइरहेको छ । तर कांग्रेस र एमालेको मिलनले माओवादीमा पुनरुत्थानको बहस सुरु भएको छ । २०६३ मंसिर ५ मा बालुवाटारबाट सार्वजनिक भएको माओवादी त्यसपछिका १८ वर्षमा बनेका १३ वटा सरकारमध्ये १० वटामा सहभागी भएको छ । जसमा ४ वटा सरकारको नेतृत्व आफैँले गरेको छ । १८ वर्षमा जम्मा ४३ महिना मात्रै माओवादी विपक्षी बन्यो । तर माओवादीमा अब व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ ।
माओवादीको एक हिस्सा सुरुवातदेखि नै संसदीय राजनीतिमा रमाएको छ । विप्लव नेकपालगायत क्रान्तिलाई निरन्तरताका लागि लडिरहेका छन् । यसलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि मनन गर्न आवश्यक छ । सत्तामा दुई दशक बिताउँदा पनि त्यसको उपलब्धि के भयो ? माओवादीले कहाँ बाटो बिरायो ? यसको निर्मम समीक्षा हुन जरुरी छ । यो समीक्षासहित जनतामा जान सके मात्र माओवादीले सर्वसाधारणबाट साथ पाउनेछ । जनधारणा साप्ताहिक