मस्को/वासिङ्टन । अमेरिकासँगको वार्तामा युक्रेन एकमहिने युद्धविराममा जान सहमत भए पनि रुस भने असहमत भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले एकमहिने युद्धविराम प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
अस्थायी युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै उनले अस्वीकार गरेका हुन् । रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको उनको भनाइ छ । ‘रुस र अमेरिकाबीच शान्त तरिकाले विचारको सामान्य आदानप्रदान भइरहेको छ,’ उनले भनेका छन् ।
यसअघि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका थिए । वार्तामा सहमति भएको सम्भावित युद्धविरामबारे टिप्पणी गर्नुअघि अमेरिकीहरूको प्रतिबद्धताको विश्लेषण गर्न आवश्यक रहेको उनको भनाइ छ । अमेरिका, युक्रेनलगायतका देशले प्रतिक्रिया पर्खिरहेका बेला रुसी राष्ट्रपति पुटिनले भने बुधबार युद्धग्रस्त कुर्स्कको क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् । उनी गत अगस्टमायुक्रेनको आक्रमणपछि पहिलो पटक कुर्स्क पुगेका हुन् ।
पुटिनले कुर्स्कबाट युक्रेनी सेनालाई धपाउने रुसको अभियान अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जारी गरेको तस्बिरमा पुटिन सैन्य पोसाकमा देखिन्छन् । रुसको सरकारी समाचार संस्था तासका अनुसार पुटिने रुसी सेनालाई कुर्स्क क्षेत्र पूर्ण रूपमा फिर्ता लिन आदेश दिएका छन् । नियन्त्रणमा लिइएका कुनै पनि युक्रेनी सैनिकलाई आतंकवादी मानिने पुटिनको भनाइ छ ।
रुसी सेनाले पहिले युक्रेनी सेनाले कब्जा गरेको कुर्स्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः नियन्त्रण गरेको जनाएको छ । रुसले गत अगस्टमा कुर्स्क क्षेत्रमा गरेको भीषण आक्रमणपछि युक्रेनले हजारौंलाई अन्यत्र सारेको थियो । तर जनवरीमा युक्रेनले प्रतिआक्रमण सुरु गरेपछि उक्त क्षेत्रमा लडाइँ चर्किएको हो । त्यतिबेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुर्स्कमा गरिएको कारबाहीले पूर्वी युक्रेनका प्रमुख क्षेत्रहरूमा रुसी सेना तैनाथ हुनबाट रोकेको बताएका थिए । तर केही दिनयता भने रुसले उक्त क्षेत्र पुनः प्राप्त गरिरहेको छ । बुधबार युक्रेनले आफ्ना सेना कुर्स्कबाट फिर्ता भइरहेको संकेत गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविरामको सम्भावनाबारे ‘सकारात्मक सन्देश’ प्राप्त गरेको बताएका छन् । ट्रम्पले युक्रेन तयार रहेको सम्झौतामा सहमति नभए रुसका लागि आर्थिक रूपमा ‘धेरै नराम्रो’ हुन सक्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि युक्रेनले शान्तिका लागि आफ्ना साझेदारसँग सकेसम्म चाँडो काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । युद्धविराम प्रस्तावबारे छलफल गर्न राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विटकोफ रुसी राजधानी मस्को पुगेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आफ्ना रुसी समकक्षीसँग कुरा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकासँग साउदी अरबमा मंगलबार भएको वार्तामा युक्रेनले अमेरिकी प्रस्ताव स्वीकार गर्दै तत्काल एक महिनाका लागि युद्धविराम गर्न तयार भएको हो । युक्रेनले रुससँग जमिन, समुद्र र आकाशमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका छन् ।
वार्तामा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहा, रक्षामन्त्री रुस्तेमा उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मक सहभागी थिए । विदेशमन्त्री मार्को रुबियो नेतृत्वको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज तथा आयोजकका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल–ऐवान उपस्थित थिए ।
युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी गरेपछि २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण लिइसकेको छ ।