काठमाडौं । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेलविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ।
सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले राजावादीलगायत प्रतिगमनकारी र पुनरूत्थानवादीहरूले गणतन्त्रविरुद्ध चलखेल गरेको भन्दै यसका विरुद्ध एकताबद्ध हुन आह्वान गरेको हो।
जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्धको गतिविधिको विरोध गर्दै गणतन्त्रशक्तिहरूलाई एकताबद्ध हुन अपील गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी गराए ।
वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै आफ्ना काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको उनले जनाए।
त्यसैगरी बैठकले आगामी चैत १ गते बृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवम् रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी गराए ।
ज्वालले मशानघाटमा पुगेको राजसंस्था ब्यँतिने कुनै सम्भावना नरहेको बताए। उनले परिवर्तनका विरुद्ध हुने चलखेल कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।