काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेकोसमेत आरोप लगाए।
उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिरसमेत गरे। पूर्वराजा ज्ञानेन्द्रले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको दाबी गरे।
उनले भने, ‘फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरु, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरुप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे।’
उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्नसमेत शाहलाई आग्रह गरे।