काठमाडाैं । अखिल नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठक पार्टीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा यही २०८१ फागुन १० गते काठमाडौंको मनमय्जुमा बसेकाे छ ।
बैठकले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीको आवरणमा भए-गरेका सैद्धान्तिक विचलन र विसर्जनकारी विचार-व्यवहारहरुका विरुद्धमा नेपालको सिद्धान्तनिष्ठ क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको प्रक्रियामा अगाडि बढाउन आवश्यक पहल गर्ने अठोट गर्दै पार्टीका वैचारिक, राजनीतिक, सांगठनिक लगायतका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यससन्दर्भमा आम नागरिकका प्रत्यक्ष सरोकारका राष्ट्रियता, जनजीविका र जनअधिकारका सवालहरुका पक्षमा र कुशासन, भ्रष्टाचार, मिटर ब्याजलगायतका जनविरोधी कुकृत्यहरुका विरुद्धमा संघर्षमा उत्रनुपर्ने निर्णय गरेको छ । यसको लागि संयुक्त मोर्चामार्फत वा विभिन्न वामपन्थी , देशभक्त, जनवादी र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूसंँग कार्यगत एकता र सहकार्य गरी संघर्षको उठान, सञ्चालन र विकास गरी निर्णायकस्तरमा पुराउन प्रयत्न गर्ने निर्णय गरेको छ ।
हालै पूर्व राजा ज्ञानेन्द्र शाहले यही फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भ पारेर देशवासीको नाममा दिएको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सो वक्तव्यको सारभूत उद्देश्य गणतन्त्र विरुद्ध परिलक्षित छ जो प्रतिगमनको पराकाष्ठा नै हो भन्ने पार्टीको ठम्याइ छ । यद्यपि क्रमिक रुपमा प्रतिगमनकारी कामहरु यी संसदवादी राजनीतिक दलहरुले सत्ता र सदनमा बसेर दिनप्रतिदिन गरिरहेकै अवस्था छ तथापि त्यसलाई तीव्रता र गुणात्मकता दिने काम प्रतिगमनकारी राजनीतिक शक्ति र नेताहरुले गरिरहेका छन् र त्यसको नेतृत्व पूर्वराजा ज्ञानेन्द्रले गर्ने दुस्प्रयास गरिरहेका छन् । वर्तमान सत्ताधारी दलहरूको देस र जनताका जटिल र गम्भीर बन्दैगैरहेका राष्ट्रियता, जनअधिकार र जनजीविकासँग सम्बन्धित आधारभूत समस्याहरुप्रतिको चरम उदासीनता र उपेक्षाका कारण आज आम नागरिकमा मौलाएको निरासा, असंतुष्टि र आक्रोशको सेरोफेरोमा प्रतिगामी शक्तिले टाउको उठाउने कुचेष्ठा गरेको स्पष्ट छ । राजा र राजतन्त्रवादी घोषित प्रतिकृयावादीहरुद्वारा हिजो भए-गरेका जनता र जनअधिकार विरुद्धका निरंकुश, स्वेच्छाचारी र दमनकारी हरकतहरु भुक्तभोगी जनताका दिलदिमागमा ताजै छन् भने इतिहासका पानामा भरिएका छन् । यस्ता अपराधी प्रतिगमनकारी तत्वहरु र आफूलाई कथित गणतन्त्रवादी भन्ने सत्ताधारी-संसदवादी नेका, एमाले र माकेआदि अघोषित पश्चगामीहरु एवं यिन्लाई यस्ता जनविरोधी, क्रान्तिविरोधी र देसविरोधी हरकतहरु गर्न-गराउन पालित, पोषित र प्रेरित गर्ने सरकारी वा गैरसरकारी वैदेशिक शक्तिकेन्द्रहरुद्वारा गरे-गराइएका राजतन्त्र पुनर्स्थापित गर्ने कुकार्यप्रति सावधान हुनु जरुरी छ । नेपाल र नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रलगायतका सिमित अग्रगामी केही उपलब्धिविरुद्धका यस्ता अवांछित गतिविधिको हाम्रो पार्टी अखिल नेपाल कम्युनिस्ट पार्टीले घोर निन्दा-भर्त्सना मात्र होइन यथासक्य विरोध र प्रतिरोध समेत गर्ने निर्णय गरेको छ । साथै सबै सच्चा गणतन्त्रवादी, जनवादी र राष्ट्रवादी शक्तिहरू एवं अग्रगमनका पक्षपाती सम्पूर्ण जनसमुदायहरुलाई उपरोक्त प्रतिगामी शक्तिहरुका धुर्त्याइँ, फट्याइँ र जालसाजीपूर्ण षड्यन्त्रका विरुद्ध एकजुट भई प्रतिगामी शक्तिहरुको सोंच र षड्यन्त्रलाई जरैदेखि समाप्त पार्नको लागि एकताबद्ध भै निर्णायक संघर्षमा उत्रन हामी गम्भीर आह्वान गर्दछौं ।
