काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित् केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयमा निश्कपक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको लागि भारतका ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेको स्पष्ट पारेकी छिन् । उनले लम्सालको मृत्युपछि विकसित परिस्थितिका विषयमा पनि आफूले निरन्तर फलोअप गरिरहेको जानकारी गराएकी छिन् ।
सोबारे जानकारी दिँदै राणाले फेशबुकमा लेखेकी छिन्–
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलो अप गरिरहेका छौँ । आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेँ । उहाँले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताउनभुयो । त्यस्तै उहाँले कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिनुभएको थियो । कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

