काठमाडौं । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा ३ जना कवाड व्यवसायी छन् भने २ जना नगर प्रहरी रहेका छन् । कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको जनाए । ‘हामीले अवैध संरचना हटाइरहेका छौं, सोही क्रममा टेकु पुगेका थियौं ।
हामी जाने बित्तिकै उनीहरूले सिसाको बोत्तल हान्न थाले, हाम्रा दुई प्रहरी पनि घाइते भएका छन्, हामीले आत्मसुरक्षा गर्दा केही कवाडी व्यवसायी पनि घाइते भएका होलान,’ जोशीले जानकारी गराए ।