काठमाडौं । सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको छ ।
आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको हो ।बुधबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, निजी मेडिकल व्यवसायीका प्रतिनिधि र आवासीय चिकित्सकका प्रतिनिधिहरुसहित छलफल भएको थियो । सो छलफलमा आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको एक सहभागीले बताए । तर चिकित्सा शिक्षा आयोगसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि लिखित सम्झौता हुनेछ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गर्दै पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो । त्यसपछि चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि पुनरावलोकन गर्न सरकार सकारात्मक भएको हो ।


