काठमाडौं । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षक कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।
नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए ।
कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जनकारी दिइएको थियो ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे ।
‘आर्थिक सुरक्षाका लागि प्रवासी नेपालीले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थित रूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउनुपर्छ । यसले तपाईंहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,’ राजदूत पौडेलले भने ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरूको महत्त्वपूर्ण योगदान रहेकामा जोड दिए ।
कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरू यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको उनले बताए ।
मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फन्ड र सेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो ।
नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा विदेशमा श्रम गरिरहेका नेपालीहरूको ठूलो योगदानलाई सम्मान गर्ने बताए ।
बैंकको उद्देश्य भनेकै तपाईंहरूको मेहनतको उचित सदुपयोग गर्दै, तपाईंहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरणहरू उपलब्ध गराउनु रहेको उनले बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए ।
‘वित्तीय साक्षरताले दीर्घकालीन समृद्धिको ढोका खोल्छ। सचेत वित्तीय निर्णयहरू गरेर र बैंकिङ सेवा सही रूपमा उपयोग गरेर, हामी रेमिट्यान्सलाई दिगो लगानीमा रूपान्तरण गर्न सक्छौं, जसले हाम्रो परिवार र नेपालको अर्थतन्त्रलाई फाइदा पुर्याउँछ,’ उनले भने ।