काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको परिभाषित जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको हो ।
‘उहाँको चाहना अनुसार उत्पादन क्षेत्र हेर्नेगरी संयन्त्र बनाउने र त्यसको प्रमुख रहनेगरी जिम्मेवारी दिइएको छ’, एक पदाधिकारीले भने । पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकहरुमा यसअघिबाटै सहभागी हुन थालेका थिए । पुस अन्तिम साता चलेको केन्द्रीय कमिटी बैठकमा पनि उनी पदाधिकारीकै लहरमा बसेका थिए ।
‘पदाधिकारीकै हैसियत पाउनु हुने हो, निर्णय मात्र नभएको हो । यसपटक हामीले पार्टीको घोषित जिम्मेवारी दिएका छौं’, ती पदाधिकारीले भने, ‘अरु निर्णय विस्तारै हुन्छ ।’ माओवादीका शीर्षमध्येका नेता पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए ।
२०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपति बनेका थिए । दुईपटकको कार्यकाल सकिएपछि भण्डारी र पुन दुवैले सक्रिय राजनीतिमा फर्कने संकेत दिएका थिए ।