काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको जनाएका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले साँचो नै सरकारले बोक्ने हुँदा संसद् सुचारु हुन ढिलाइ हुने गरेको जनाए।
उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको जनाए । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद् सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको उनको भनाइ थियो।
उनले भने, ‘संसद् किन खुलिरहेको छैन भनेर सोच्दा, हामी त शक्ति पृथकीकरण भन्छौँ। व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ। तर यहाँ हुँदा के रहेछ भने संसद्को पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ। सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ।’
अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायालयले फैसला गर्ने गरेको आरोप लगाए।


