सुर्खेत । नेकपा -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको जनाएका छन् ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको जनाएका हुन्।
उनले भने, ‘मैले अनुमान गरेको कुरा नै लागू भएको छ। यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए। प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ। ’
सरकार प्रति कुनै अभिरुचि नभएको उल्लेख गर्दै उनले कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरे।
उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्ब चाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ । नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन। जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयू छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ। ’