काठमाडौं । नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जाँदा आयातमा पनि उल्लेखिय वृद्धि भइरहेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्येक महिना ईभी गाडीको आयातले प्राथमिकता पाइरहेको देखिएकाे हो । विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुषसम्ममा विभिन्न ब्रान्डका ५ हजार ४८० वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ ।
विभागले ५० किलोवाट क्षमताका ईभी १७ सय २५, ५१ देखि १०० किलोवाट क्षमताका ३१ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५५३ वटा गाडीको आयात भएको बताएको छ ।
यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ९ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकले देखाएकाे छ । १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।
उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेकाे छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नाले ईभीको प्रयोग बढ्दै गएको हाे ।
सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै बृद्धि हुने व्यवसायीहरू जनाउँदै आएका छन् ।
नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ । यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ९५८ र भारतबाट ७६७ वटा भित्रिएका छन् । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २७ सय ७, भारतबाट ३८३ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकले देखाएको हो ।
यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५३१, जर्मनीबाट १७, कोरियाबाट १ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।
यसका साथै २०१ देखि ३०० किलोवाटको चीनबाट ७, जर्मनीबाट २ र ३०० भन्दा किलोवाट भन्दा माथिको २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।