काठमाडाैं । विवेकशील साझा युवा संगठनले आफ्नो पुरानो कार्यक्रम नितिसाला र नयाँ कार्यक्रम लर्न, ग्रो एण्ड लिड इनिसिएटिभ सुरु गर्ने घोषणा गरेको छ। संगठनको केन्द्रिय समितिको बैठकले यी दुई महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै यस सम्बन्धमा काम सुरु गरिसकेको संयोजक युजन राजभण्डारीले जानकारी गराएका छन्।
नितिसाला कार्यक्रम प्रत्येक नेपाली महिनाको पहिलो शुक्रबार आयोजना गरिनेछ। यो कार्यक्रम समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने र अन्य दलका नेता, विषय विज्ञ, र नागरिक समाजका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने थलो बन्नेछ।यसको पहिलो श्रृङखला माघ ४ गते रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठसङ्ग हुनेछ ।
त्यस्तै, लर्न, ग्रो एण्ड लिड इनिसिएटिभ प्रत्येक महिनाको अन्तिम शनिवार आयोजना गरिनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरुको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि आवश्यक सफ्ट स्किल्स ट्रेनिङ प्रदान गर्नु हो। यो इनिसिएटिभ अन्तर्गत क्यान्भा प्रयोग गरेर डिजाइन गर्ने, सेयर मार्केट सम्बन्धी ज्ञान बढाउने, रेज्युमे र सीवी निर्माण गर्ने, कम्युनिकेसन स्किल सुधार गर्ने, र बिजनेस मोडेल तयार गर्ने जस्ता विविध विषयमा तालिम प्रदान गरिनेछ।
विवेकशील साझा युवा संगठनले यी कार्यक्रमहरूबाट युवाहरूमाझ ज्ञान र सीप विकास गर्दै उनीहरूको नेतृत्व क्षमताको वृद्धि गर्ने लक्ष्य राखेको छ।