काठमाडाैं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा करिब दुई हप्तादेखि युरोप भ्रमणमा छिन् ।
उनी यही पुस ५ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबिच परराष्ट्रमन्त्री राणा भारत जाने चर्चा पनि चुलिएको छ । यद्यपि त्यसको औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतले उनको भ्रमणबारे टुङ्गो नलागेको जनाएको छ । युरोप भ्रमणकै क्रममा परराष्ट्रमन्त्री राणा भारत जाने तयारीमा जुटेको जनाइएको छ ।
भारतमा आयोजना हुने एउटा कार्यक्रममा सहभागी हुने र आफ्नो स्वास्थ्य जाँचका लागि उनी भारत जान लागेको स्रोत जनाउँछ । स्रोतका अनुसार भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले उच्चस्तरीय भेटवार्ताको योजना बनाए पनि कार्यतालिका नमिलेका कारण उनको भ्रमण टुङ्गो लाग्न नसकेको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयलाई लिएर मंगलबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवबिच भेटघाट भएको थियो ।
भेटघाटमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलगायत अन्य समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बारेमा भने सो भेटवार्तामा चर्चा नभएको स्रोत जनाउँछ । परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आन्तरिक रूपमा भारत भ्रमणको तयारी चलिरहेको छ । त्यो अझै कायम छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री भारत जाने तय भएपछि मात्र भेटवार्ता लगायतका कार्यक्रम तय हुनेछन् । परराष्ट्रमन्त्री राणा बुधबार जर्मनीको एउटा कार्यक्रममा सहभागी हुँदै छिन् । सो कार्यक्रमपछि केही उच्चस्तरीय भेटघाट गरी उनी नेपाल फर्किने कार्यक्रम छ ।
यद्यपि, उनी नेपाल फर्किने कि उतैबाट भारत सकेर नेपाल फर्किने भन्ने टुङ्गो लागेको छैन । भारतमा उच्चस्तरीय भेटघाट हुने तय भएमा परराष्ट्रमन्त्री राणा भारत हुँदै नेपाल फर्किने, अन्यथा सोझै नेपाल आउने स्रोत जनाउँछ ।
यस क्रममै भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि अन्य उच्चस्तरीय भेटघाट मिलाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । भारतमा हुने आर्थिक सम्मेलनमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा पुस ५ गते हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भए पनि उच्चस्तरीय भेटवार्ताको समय नमिलेको खण्डमा उनी भारत नगई युरोपबाट सोझै नेपाल फर्किने जनाइएको छ ।