धरान । नेवार समुदायमा प्रचलित यःमरी पर्वको जर्गेना गर्ने उद्देश्यले धरानमा घरघरमा यःमरी भन्ने उद्देश्यसहित धिमे नृत्य हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै घरघरमा यःमरी पाँचौं संस्करणको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
धरानका स्थानीय बासिन्दाको सक्रियतामा नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आगामी मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म यःमरी महोत्सव र धिमे नृत्य गरिने नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केले जानकारी गराउनु भयाे ।
यसअघि पनि हामीले भव्यरुपमा उत्सव आयोजना गर्दै आएको उहाँले बताउनुभयो । यःमरी महोत्सवको अवसरमा धिमे बाजासहित २ सय कलाकारले नेवारी नृत्य प्रस्तुत गर्ने जसकाे लागि तयारी भइरहेको अध्यक्ष सुदन मुनिकारले जनाउनुभयो । सो कार्यक्रमका लागि देशभरका कलाकारको उपस्थिति रहने उहाँले जनाउनुभयो ।
शताब्दी इतिहास बोकेको यःमरी तथा नेवारी परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित गर्न लागिएको संयोजक अमृत आचार्जुले जनाउनु भयाे । उत्सवमा हरेक घरघरमा यमरी पाइनुका साथै लाखे नाच, धिमे बाजा र ठाकठुके लगायत नेवारी सांस्कृतिक कार्यक्रम प्रस्तुत उहाँले जानकारी गराउनु भयाे ।
पर्यटन प्रवर्धनमा टेवा पुर्याउन साथै संस्कार, संस्कृतिको जगेर्नाका लागि यस्तो कार्यक्रम राखिएको संयोजक आचार्जुले बताउनुभयो । यःमरी पुन्ही वा यःमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व हो । नेवार समुदायले जाडो महिनामा यःमरी बनाएर खाने पर्व योमरी पुन्ही वा योमरी पूर्णिमा पर्व मनाउँछन । नेवार समुदायमा यःमरीको विशेष महत्व छ ।
विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान्नमध्ये एक हो ।


