काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले रवि लामिछानेमाथि निरङ्कुश र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै प्रचण्डले अदालतबाट दोषी ठहर नभएका व्यक्तिलाई सरकारले अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका हुन् ।
त्यस्तै प्रचण्डले अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापतिमाथि भएको खेदजनक व्यवहार रोक्न समेत सरकारलाई आग्रह गरेका छन् । ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’, प्रचण्डले लेखेका छन् ।
सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएका लामिछानेलाई सरकार र प्रहरी प्रमुखकै ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ः ०५ मा पोखराका लागि हिँडाइएको थियो । दिनभर बयान सकेर आराम गरिरहेका लामिछानेलाई परिवारलाई समेत जानकारी नदिई पोखरा लगिएको थियो ।
भोलिपल्ट उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको दुर्व्यवहारमाथि प्रश्न उठिरहेको छ । पोखरा पु¥याइएका लामिछानेको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप अस्वभाविक देखिएको थियो ।


