काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि हिरासतमा अपराधीजस्तो व्यवहार भएको जनाएको छ । सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीले आपत्ति जनाउँदै मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार एक विज्ञप्ती निकाल्दै पार्टीले रवि लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याउनु आपत्तिजनक रहेको बताएको छ । त्यस्तै सरकारको प्रत्यक्ष निर्देशनमा सो कार्य भएको भन्दै रास्वपाले सरकारको उक्त कदम आश्चर्यजनक, निकृष्ट र निन्दनीय भएको जनाएको छ ।
त्यस्तै पार्टीले हिरासतमा रहेका सभापति लामिछानेमाथि सरकारले चालेका गैरन्यायिक कदमको राज्यले औचित्य पुष्टि गर्नुपर्ने बताउँदै त्यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।
अनुसन्धानमा सघाइरहेको जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको पार्टीले जनाएको छ । त्यस्तै कानुनको उल्लङघन गर्नेहरुमाथि कानुनी प्रावधान बमोजिम कारवाही गर्न रास्वपाको माग छ ।


