मोरङ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने जनाएका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागिपरेको बताएका हुन्।
उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको बताए। उनले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी बताए।
उनले दीक्षित प्रहरीहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गरे।
उनले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने विश्वास व्यक्त गरे।
उनले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने भन्दै राष्ट्र सेवामा जोश र ऊर्जाका साथ लाग्न निर्देशन दिए।


