काठमाडौं / माओवादी केन्द्रले भावी योजनाको प्रारुप तयार पार्न केन्द्रीय समितिबाट नयाँ योजना ल्याउने तयारी गरेको छ । पार्टीभित्र अहिले विचारको विकास र पार्टी निर्माणबारे बृहत् छलफल भएको र विचार संश्लेषणका आधारमा पार्टीको भावी योजना बनाउने तयारीमा रहेको माओवादी जनाएको हो ।
के माओवादीलाई अहिले विचारकै खडेरी परेको हो ? विनाविचार जनयुद्ध भएको थियो ? विचारविनै माओवादी शान्तिप्रक्रिया हुँदै अहिलेको अवस्थामा आएको हो ? वास्तवमा माओवादी विचारविहीनभन्दा पनि वैचारिक स्खलनको संकटमा छ । तर, माओवादी नेताहरुले भने फेरि एक पटक मूल समस्या भन्दा सतही विषयमा छलफल गरेर समस्यालाई नजरअन्दाज गर्ने प्रयास गरेका छन् ।
डेढ दशकयता माओवादी सरकारमा पटकपटक सरकारमा सहभागी भएको छ । जनताकै मतका कारण पहिलो पार्टी पनि बनेको थियो भने अहिले तेस्रो पार्टीमा खुम्चिएको छ । तर, यस बीचमा माओवादी नेताहरुको जीवनस्तरमा भने आकाशपाताल फरक भएको छ । माओवादीको संगठन खुम्चिँदै गएको छ भने सर्वहारावर्गसँगको सम्बन्ध टुट्दै गएको छ । तर, पनि माओवादी नेताहरु भने वैचारिक स्खलनलाई स्वीकार्न तयार छैनन्, बरु विचार निर्माणको अभ्यासमा छन् ।
उपमहासचिव हरिबोल गजुरेल अहिले विचार निर्माण नै मुख्य कुरा भएको जनाएका हुन् । ‘भावी दिनमा पार्टीलाई कस्तो बनाउने ? रणनीति र कार्यनीति कस्तो बनाउने ? कसरी जाने ? नेताहरूको रुपान्तरण कसरी गर्ने ? लगायत विषयमा उजागर गर्ने काम भयो । नेताहरूको कार्यशैली, आचरण, गुटबन्दीका विषयमा केही प्रश्न उठेका छन्,’ उनले भने ।
उनले अगाडि भने, ‘अहिले विचार निर्माण नै मुख्य कुरा हो । विचार र राजनीति ठीक भएपछि अन्य कुरा ठीक हुँदै जान्छ । कार्यशैली आचरण त्यसैमा भर पर्छ । त्यसमा मेहनत गर्नुपर्छ ।’
सचिव चक्रपाणि खनालले बैठकमा सरकारबाट हट्नुपर्नाको कारण, सदन, सडकबाट पार्टीलाई कसरी प्रभावकारी बनाउने ? सत्ता बाहिर रहेको अवस्थामा प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने भन्ने कोणबाट विचार आएको जनाएका छन् । विभिन्न दलसँगको गठबन्धन, सरकारमा हुँदा लिएका नीतिलगायतको विषयमा पनि समीक्षा गर्नुेपर्नेमा नेताहरुले जोड दिएका छन् ।
माओवादी अहिले आफ्नो विचारको विस्मृतिको समस्यामा रुमल्लिएको छ । न पहिले, न त अहिले माओवादीमा विचारको अभाव छ । तर गठबन्धन गर्दा होस् वा सरकारमा रहँदा होस् विचार अनुरुप चल्न नसक्दा माओवादी अहिले संकटको डिलमा छ । त्यसैले विचारको कार्यान्वयनमा पनि माओवादी नेताहरुको ध्यान पुग्न आवश्यक छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि १४ वर्ष सत्तामा नै रहेको छ । यसबीचमा पार्टी ठूलो हुनुभन्दा कमजोर भएको छ । यो प्रश्न अनुत्तरित छ । २०६३ मंसिर ५ मा बालुवाटारबाट सार्वजनिक भएको माओवादी त्यसपछिका १८ वर्षमा बनेका १३ वटा सरकारमध्ये १० वटामा सहभागी भएको छ । जसमा ४ वटा सरकारको नेतृत्व आफैँले गरेको छ । १८ वर्षमा जम्मा ४३ महिना मात्रै माओवादी विपक्षी बन्यो । तर माओवादीमा अब व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ । माओवादीको एक हिस्सा सुरुवातदेखि नै संसदीय राजनीतिमा रमाएको छ । विप्लव नेकपालगायत क्रान्तिलाई निरन्तरताका लागि लडिरहेका छन् । यसलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि मनन गर्न आवश्यक छ । सत्तामा दुई दशक बिताउँदा पनि त्यसको उपलब्धि के भयो ? माओवादीले कहाँ बाटो बिरायो ? यसको निर्मम समीक्षा हुन जरुरी छ ।
कुनै पनि राजनीतिक दलले आगामी निर्वाचनमा चामत्कारिक परिणाम हासिल गर्न गौरवमय इतिहास, प्रष्ट र आकर्षक विचार, स्वच्छ छवि भएको नेतृत्व, बलियो संगठन, आकर्षक मुद्दा, चुस्त व्यवस्थापन क्षमता र जनमुखी कदम चालिरहेको लोकप्रिय सरकारमध्ये अधिकांश वा केही न केही आधार हुन आवश्यक हुन्छ । जनयुद्धका सहभागीको सहानुभूति र गणतन्त्र स्थापनामा गरेको योगदान माओवादीको सम्पत्ति हो । तर, सत्य निरुपण तथा मेलमिलापका काम ढिलो हुँदा, बेपत्ता आफन्तको खोजी र टुंगो नहुँदा, घाइते योद्धा र शहीद परिवारले यथोचित क्षतिपूर्ति प्राप्त गर्न नसक्दा जनयुद्धकै समर्थक र सहभागीसमेत माओवादीसँग रिसाएका छन् । उनीहरुलाई रिझाउने काम माओवादी नेतृत्व तहकै हो ।
माओवादीले गत चुनावमा पाएको मतलाई हेर्ने हो भने प्रतिपक्षमा बस्ने जनादेश पाएको थियो । अब माओवादी प्रमुख प्रतिपक्षमा पुगेको छ । त्यसैले सत्ताको दाउपेचभन्दा भन्दा पनि पार्टी सुदृढीकरण र जनविश्वास जित्ने रणनीतिमा माओवादी अघि बढ्न जरुरी छ । माओवादीभित्र पनि अध्यक्षलाई सबै शक्ति र जिम्मेवारी हस्तान्तरण गर्ने प्रवृत्तिले पार्टी बलियो नहुने सन्देश दिएको छ । अर्कोतर्फ अन्य वामपन्थी दलहरुबीचको सहकार्यले पनि माओवादीको शाख फिर्ता गर्न सक्नेछ । जनधारणा साप्ताहिक


