काठमाडौँ – कास्कीको पोखरा महानगरपालिकामा रहेका हर्पन खोला र गुदेतालमा डुबेर एकै दिनमा तीन जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका– २३ घाँटीछिनामा रहेको हर्पन खोलामा पौडी खेल्ने क्रममा दुई जनाको र पोखरा–२६ मा रहेको गुदेतालमा डुबेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शुक्रबार दिउँसो हर्पन खोलामा डुबेर १८ वर्षीय प्रकृत बुद्धचार्य र १८ वर्षकै स्वयम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। ६ जना पौडी खेल्न गएकोमा ४ जना सकुशल रहेको शर्माको भनाइ छ।
शुक्रबार दिउँसो नै गुदेतालमा डुबेर लमजुङ घर भई पोखरा बस्ने ६ वर्षीय सचिन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। बुवासँग माछा मारेर हेर्न गएको बेला अचानक तालमा खसेर मृत्यु भएको डिएसपी शर्माले जानकारी दिए।
तालमा डुबेको बालकको तत्काल उद्धार गरेर लेखनाथ सिटी अस्पतालमा उपचारको लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।