काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कसैले भन्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने जनाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने जनाएका हुन् ।
‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन’, उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ । कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ पनि सिकाइरहनु पर्दैन ।’
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान नै रहेको उनले जनाए।
त्यहीअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेको उनले जिकिर गरे । संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन खोज्नुलाई अनैतिक भन्न नमिल्ने उनको तर्क छ ।


