मोरङ – मदिरा सेवनको विषयमा विवाद हुँदा होटल सञ्चालिकाको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगर वडा नम्बर १९ रहेको एक होटलमा शनिबार बेलुका मदिरासहित खाजा खान पुगेका स्थानीय ५० वर्षीय वीरबल गोसाईसँग होटल सञ्चालिका तिलादेवी ऋषिदेवको विवाद परेको थियो।
सोही क्रममा दुवैबीच कुटाकुट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको मोरङ प्रहरीले ३५ वर्षीया ऋषिदेवलाई नियन्त्रणमा लिएको छ।
मृतक गोसाईको शरीरको भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ। कुटपिटपछि घाइते अवस्थामा गोसाईलाई आइतबार बिहान स्थानीयले फेला परेका थिए।
स्थानीयकै पहलमा घाइते गोसाईलाई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा गोसाईको अपराह्न करिब ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।


