काठमाडौं । आज नेपालले विश्वकप फुटबल २०२६ को छनोट यात्रामा यमनसँग प्रतिस्पर्धा गर्दै छ । एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा यमनसँग नेपाल खेल्न लागेकाे हाे ।
यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे साउदी अरबको दम्माममा सुरु हुनेछ । यमन र नेपाल दुवै तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ । दुवै टोली सुखद् नतिजासहित यात्रा टुंग्याउने प्रयासमा छन् ।
अहिलेसम्म नेपालले ५ खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन भने एक गोल पनि गर्न सकेको छैन । यमनले ५ खेलमा ३ हार, एक जित र एक बराबरीको नतिजासहित ४ अंक जोडेको छ ।
यमनविरुद्ध खेल्दै नेपाली टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १ सय खेलको कोसेढुंगा पूरा गर्दैछन् ।
यसअघि कुनैपनि नेपाली फुटबल खेलाडीले यस्तो सफलता हात पार्न सकेको छैन ।
किरण सन् २००८ देखि नेपालको सिनियर राष्ट्रिय टोलीमा छन् । नेपाली टोलीले गोल गर्न सकेमा र अंक प्राप्त गरेमा आफ्नो सयौँ खेल अझ विशेष हुने कप्तान किरण जनाउँछन् ।