–निमकान्त पाण्डे
विश्वमा भूराजनीतिक ध्रुवीकरण बढ्दो छ । एकातिर, युरोप–अमेरिकाको खेमा छ, अर्कोतिर रुस, चीन, उत्तर कोरियाजस्ता देशहरुको समूह । एसियाका मध्यपूर्वका मुस्लिम बाहुल्य देशहरुको संगठन पनि अहिले सशक्त रुपमा प्रस्तुत हुँदै आएको छ । एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारत आगामी दिनमा झनै शक्तिको केन्द्र बन्ने भएपछि विश्वको ध्यान यी देशहरुमा पनि छ । विशाल जनसंख्या, जुन जनशक्ति र बजारको दृष्टिले महत्वपूर्ण छ, त्यसैले पनि अन्य देशहरुको नजर भारत र चीनतर्फ बढेको हो । यी दुवै देश नेपालको छिमेकी भएकाले स्वाभाविक रुपमा यसको असर नेपालमा पनि पर्ने नै भयो । नेपालको भूराजनीतिक अवस्थितिको महत्वका कारण अहिले शक्तिराष्ट्रहरुको चासो यहाँ बढ्न थालेको छ । के त्यसका लागि नेपाल भने तयार छ ?
कूटनीति, यो शब्द आफैंमा विशाल व्याख्या, रणनीति, शासकीय चातुर्य आदिले भरिएको छ । तर, नेपालमा भने कूटनीतिक विषय सधैं ओझेलमा परेका छन् । अझ भन्नुपर्दा नेपालका राजनीतिक दलहरु आन्तरिक विषयमा नै अल्झिँदा कूटनीतिको विषयमा गम्भीर रुपमा मन्थन हुन सकेको छैन । यही कारण नेपालले आफ्ना छिमेकी र सदियौंदेखि सम्बन्ध भएका चीन र भारतलाई पनि विश्वासमा लिन सकेको छैन । भूपरिवेष्ठित देश नेपाल चीन र भारतसँग मात्र जोडिएको छ । भारतसँग सीमा मात्र होइन, वर्षौंदेखि व्यापार, संस्कृति र सम्बन्ध पनि जोडिएको छ । चीनतर्फ केही भौगोलिक कठिनाइ छ, तर सम्बन्ध विस्तार भने धेरै पुरानो छ । यति हुँदाहुँदै पनि नेपालले चीन र भारतको विश्वास किन जित्न सकेको छैन त ? कूटनीतिक परिपक्वताको अभाव ।
नेपालको कूटनीति स्थिर छैन । दलपिच्छे छिमेकी देशहरुसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण फरक छ । त्यसैले सत्तामा पुग्ने दलहरुको नीतिअनुसार कूटनीति फेरिँदा छिमेकी देशहरुले पनि हामीलाई विश्वास गर्न सकेका छैनन् । देश र दलको कूटनीति फरक हुनसक्छ, हुनुपर्छ । तर, नेपालमा भने दलका अनुसार देशको कूटनीति फेरिने गरेको छ । अर्कोतर्फ छिमेकीहरुको स्वार्थ र आफ्नो देशको हितलाई बुझेर त्यही अनुसार कूटनीति निर्धारण गर्न पनि नेपाल असफल हुँदै आएको छ ।
नेपालमा धेरैजसो दलहरु भारततर्फ ढल्किएका छन् । लामो समयदेखि भारतले नेपाली राजनीतिमा हस्तक्षेपमूलक व्यवहार प्रदर्शन गर्दै आएको छ । नेपालमा भएका ठूलो परिवर्तनमा भारत कुनै न कुनै रुपमा जोडिनु यसको उदाहरण हो । सात सालको परिवर्तनदेखि पछिल्लो समय दोस्रो आन्दोलनअघि दिल्लीमा भएका सम्झौता पनि यसका उदाहरण हुन् । भारतका लागि व्यापार बजार, पानी तथा जलविद्युत्को स्रोत नेपाल जति अस्थिर हुन्छ, त्यति उसका लागि फाइदा हुन्छ । यहीकारणले नेपालले विभिन्न कालखण्डमा भारतसँग थुप्रै असमान सम्झौताहरु गरेको छ । भारतको हेपाहा प्रवृत्तिका कारण सीमा समस्या ज्यूँका त्यूँ छ । नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमणमुक्त गर्न भारत चाहिरहेको छैन ।
पछिल्लो समय चीनसँगको भौगोलिक कठिनताका बीच नेपालले विभिन्न नाकाहरु सञ्चालन गरेको छ । तर, यी नाकाहरु सहज भने छैनन् । यी नाका पनि लामो समयदेखि सञ्चालनमा आउने भनिए पनि चीनले खुला गर्न ढिलाइ गर्दै आएको थियो । यसको कारण हो, नेपालप्रति चीनको सशंकित व्यवहार । चीनले नेपालमा सधैं एक चीन नीतिप्रति प्रतिबद्धता खोज्दै आएको छ । नेपालमा भ्रमणमा आउने अधिकांश चिनियाँ नेताहरुले नेपालमा हुने चीनविरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । चीनका तिब्बती भूभाग नेपालसँग जोडिएका छन् भने तिब्बती शरणार्थीहरु राजधानी काठमाडौंका विभिन्न क्याम्पमा बस्दै आएका छन् । उनीहरुले चीनविरोधी गतिविधि गर्दा यसले नेपालको कूटनीतिमा पनि असर पुगेको हो ।
समग्रमा अहिले कूटनीतिक स्थिरता र परिपक्वताको आवश्यकता नेपाललाई छ । नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । तर, कूटनीतिक रुपमा शक्तिशाली बन्न नसक्दा नेपालीहरु अहिले पनि रुसी सेनामा कार्यरत छन्, नेपालले पटकपटक आग्रह गर्दा पनि उनीहरुलाई पठाउन रुसले मानेको छैन । हमास विद्रोहीको कब्जामा अहिले पनि नेपाली नागरिक विपीन जोशी कैद छन् । तर, उनलाई छुटाउन नेपाल सफल हुन सकेको छैन । हमाससँग राम्रो सम्बन्ध भएका कतारका राजाले हालै नेपाल भ्रमण गर्दा पनि नेपालले जोखिमलाई छुटाउन पहल बाहेक अन्य उपलब्धि हुन सकेन । कूटनीतिक परिपक्वताको कमीका कारण छिमेकी देश हामीप्रति सशंकित छन् । विश्वको यो ध्रुवीकरणबीच अब भने नेताहरुले कूटनीतिबारे सोच्ने हो कि ? जनधारणा साप्ताहिक