काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान परिमार्जन गरेर अगाडि जानुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आयुर्वेद क्याम्पस ईकाइले सोमबार कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरुलाई गरेको स्वागत कार्यक्रम सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अगाडि जानु पर्नेमा जोड दिएका हुन् ।
‘केही साथीहरु संविधान संशोधन गरियो भने पेन्डोरा बक्स खुल्छ भन्नुहुन्छ । संविधान जारी गर्ने बेला पनि यही कुराहरु गरिएको थियो,’ कोइरालाले भने, ‘अहिले संविधान जारी गरियो भने अप्ठ्यारो परिस्थितिमा पर्छौं भनिएको थियो । तर, हामीले संविधान जारी ग¥यौँ, चल्दैछ । यसमा परिमार्जन गरेर अगाडि जानु पर्नेछ ।’
मुलुकमा भ्रष्टाचारले अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको भन्दै उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन आफ्नोे अभियान भएको जनाए । ‘अहिले देशमा भ्रष्टाचारले अत्यन्त अप्ठ्योरो परिस्थितिमा देशलाई पारेको छ । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन यो नै मेरो अभियान हो,’ नेता कोइरालाले भने, ‘यो कुरालाई हामीले गर्न सक्छौँ भन्ने विश्वास मलाई छ । म गर्न सक्छु, हामी गर्न सक्छौँ ।’
उनले आफ्नो अभियानमा नेविसंघको साथको पनि अपेक्षा गरे । ‘नेविसंघका साथीहरुले हामीलाई साथ दिनुहुन्छ, हामी गर्न सक्छौँ भन्ने विश्वास मलाई छ,’ कोइरालाले जानकारी गराए । उनले हाम्राे देशमा कुनै पनि कुराहरु ठीक नभएको पनि टिप्पणी गरे ।‘देशमा कुनै पनि कुरा ठीक छैन । सरकार ठीक छैन, नीतिहरु ठीक छैन,’ नेता कोइरालाले भने । उनले जनताले सहकारीमा गरेको बचत हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको जानकारी गराए ।