काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अघिल्लो वर्षको बजेट वक्तव्यमा नीतिगत एवम् कानुनी सुधार कार्यक्रममा २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भन्ने उल्लेख रहेकोमा अझै नभएको भन्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको हो । चालू आर्थिक वर्षको बजेटमा भएको व्यवस्था प्लास्टिकमा पोको पारिएका सुर्तीजन्य विस्तुका लागि पनि हो । ऐनले निषेध गरेका वस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन भन्ने पनि प्रस्ट पार्न मेयर शाहको आग्रह छ ।
यसअघि काठमाण्डौ महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्री/वितरणमा रोक लगाउन जारी गरेको सूचना सङ्घीय सरकारको यही व्यवस्थाका कारण सर्वोच्च अदालतले रोकेको थियो । सङ्घीय सरकारले नीति बनाएको तर कार्यान्वयन नगरेको र स्पष्ट पनि नबनाएका कारण स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण काम पनि आफूहरूले गर्न नपाएको महानगरका मेयर शाहको भनाइ छ ।