काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । तीनवटै बस चालकसहित घाइते भएका अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-३ अरिंगालेफेदीस्थित सडकमा रा.१ ख १९१६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सल्यान छत्रेश्वरी गाउँपालिका-६ बस्ने २६ वर्षीय सुकलाल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सहचालकको कान्तिपुर अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ । झापा, शिवसताक्षी नगरपालिका-९ मिलनचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री शिवसताक्षी नगरपालिका-९ बस्ने ६० वर्षीय पुत्रथाम राईको आइतबार राती मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-१४ आमडाँडास्थित सडकमा ग.२० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ घुम्तिंमा डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय सुनिल कुमार शाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल स्याङजा हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।