म्यानचेस्टर डर्वीबीचको एफए कपको फाइनल भिडन्तमा युनाइटेडले बाजि मार्दै उपाधि जितेको छ। गत संस्करणमा सिटीसँगै पराजित हुँदै फाइनल गुमाएको युनाइटेडले यो पटक भने २-१ ले नतिजा आफ्नो पक्षमा पार्यो।
वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा यूनाइटेडले लिएको २ गोलको अग्रतालाई जोगाउन सफल भयो। प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २-१ ले नै हराएर उपाधि जितेको थियो।
बर्खास्तीको पर्खाइमा रहेका प्रशिक्षक एरिक टेन हागले युनाइटेडले अपेक्षा नगरेको उपाधि दिलाउँदै आफ्नो आलोचनाहरुलाई केही मथ्थर पार्ने प्रयास गरेका छन्। यद्यपि नवनियुक्त को-अनर सर जिम रटक्लिफले नतिजा जस्तो निस्कीएपनि टेनहागलाई बर्खास्त गर्ने बताउँदै आएकाले उनको जागिर जोगिने सम्भावना भने कमजोर छ।
खेलमा अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले युनाइटेडका लागि पहिलो हाफमै गोल गरेका थिए। खेलको ३०औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको तालमेल नमिल्दाको फाइदा उठाउँदै गार्नाचोले गोल गरे। त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन्।
यद्यपि ३९औँ मिनेटमा माइनूले युनाइटेडको अग्रता दोब्बर बनाए। उनले ब्रुनो फर्नान्डिसको पासलाई सदुपयोग गरेका थिए। ८७औँ मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २-१ को अबस्थामा ल्याएपनि टिमको हार टार्न पर्याप्त रहेन। युनाइटेडको यो १३औँ एफए कप उपाधि हो। अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ।