काठमाडौं । रिङरोडको सडक विस्तार नहुँदा सर्वसाधारणले धुलो खानुपरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो उपहार पठाएका छन्।
कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड सडक निर्माण नहुँदा काठमाडौँका जनताले विगत १५ वर्षदेखि धुलो खानुपरेको भन्दै मेयर शाहले शनिबार एक ट्रक धुलो पठाएका हुन्।
मेयर शाहले पठाएको धुलो मीनभवनस्थित सडक विभाग र डिभिजन सडक कार्यालय अगाडि खन्याइएको छ। उनले धुलो खन्याउँदै गरेको ट्रकको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। उनका अनुसार,’तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ।’
सडक नबन्दा काठमाडौं महानगरले गाली खानुपरेको उनको भनाइ छ। मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्,’काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।’
रोकिएको सडकको काम अगाडि नबढेसम्म हरेक दिन एक ट्रक धुलो उपहारस्वरुप पठाउने मेयर शाहले जनाएका छन्। ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला,’ उनले भनेका छन्।