काठमाडौँ / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर नेपाली कांग्रेस फसेको बताएका छन्।
संसदमा छानबिन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली कांग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानबिन गर्ने माग गरेको भए उपयुक्त हुने उनको जिकिर थियो।
मंगलबार संघीय संसद् भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरुमाझ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको? भनेर पनि कांग्रेसलाई प्रश्न गरे।
अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस्तै कुनै पनि निकाएले छानबिन नगरी गृहमन्त्रीमाथि दोषी करार कांग्रेसले गर्न नमिल्ने उनको भनाइ थियो।


