नवलपरासी । पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीमा एक दिने निः शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका सामाजिक विकास शाखाको आयोजना तथा रोटरी क्लब अफ कावासोतीको सहआयोजना र मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीको प्राविधिक सहयोगमा जेष्ठ नागरिक विशेष निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो।
विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहको अध्यक्षता तथा रोटरी क्लब अफ कावासोतीका सेक्रेटरी शिव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा रोटरी क्लब अफ कावासोतीका सेक्रेटरी गिरीले आँखामा हुने समस्यालाई आफ्नै गाउँघरमै परिक्षण गरेर उपचार गर्ने अवसर पाउनु सुखद रहेको बताउदै रोटरी क्लब कावासोतीले यस्तो महान कार्य गर्न पाउनु ठूलो अवसर रहेको बताउनु भयो। निशुल्क आँखा शिविरमा विनयी त्रिवेणी ६,७ र सुस्ता गाउँपालिकाको वडा न. २ र ३ का नागरिकहरुले पनि आँखा परिक्षण गराएको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीका प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ।
स्वास्थ्य शिविरमा २०६ व्यक्तिको आँखा परिक्षण गरिएकोमा ४७ व्यक्तिमा मोतियाविन्दु देखापरेको भट्टराईले बताउनु भयो। स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. प्रदीप भट्टराईको नेतृत्वमा आएको टोलीले स्वास्थ्य परिक्षण गरेको आयोजकले जनाएको छ। स्वास्थ्य शिविरमा विनयी त्रिवेणी ७ मा रहेको उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुलका छात्र छात्राले स्वयंसेवकको भुमिका निर्वाह गरेको जानकारी प्राप्त भएको छ।


