काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीस्थित सडकमा से.१ त ९७५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २१ वर्षीय समिर रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढी उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा, सिरहा नगरपालिका-१० पदमपुर चोकस्थित सडकमा प्रदेश २-०१-०२ प.९५६२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कल्याणपुर नगरपालिका-१२ पदमपुर टोल बस्ने ४८ वर्षीय राकेश पासमानको शनिबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएको उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई प्रादेशिक अस्पताल सिरहा हुँदै थप उपचारको लागि बिराटनगरतर्फ रिफर गरिएको छ ।
हाल फरार मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।