काठमाडौं । सरकारले विदेशी मुद्रा सटही नगरिदिदाँ इन्टरनेट सेवा अवरूद्ध हुने भएको छ।
नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले सरकारले विदेशी मुद्रा सटही नगरेकोले ब्यान्डविथको रकम तिर्न नमिल्दा इन्टरनेट अवरूद्ध हुने जनाएको छ।
आइस्पानले बिहीबार काठडमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको छ। तर इन्टरनेट प्रदायक संस्थाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मतसम्भार शीर्षकअन्तर्गतको वक्यौता नतिरेको भन्दै विगत नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।
मर्मतसम्भार शीर्षकअन्तर्गतको बेरूजु वक्यौता असुलउपर गर्ने विषयमा वर्षौंदेखि इन्टरनेट सेवा प्रदायकहरू र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच विवाद हुँदै आएकाे छ। सेवा प्रदायकहरूले मर्मतसम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन्। यसबारे कुनै बेरूजू नरहेको अडान उनीहरूको छ।
ग्राहकबाट लिइएको शुल्कको सम्बन्धमा सो शुल्कको ग्रामीण दूरसञ्चार कोष आरटिडिएफ तथा रोयल्टी इन्टरनेट सेवा प्रदायकले नियम बमोजिम नेपाल सरकारलाई तिरिरहेको उनीहरूको भनाइ छ।
उनीहरुले जारी गरेको जारी विज्ञप्तिमा भनिएको छ,‘मुद्रा सटही सिफारिस नपाउँदा अपस्ट्रिम प्रोभाइडरहरूलाई ब्यान्डविथको रकम भुक्तानी गर्न सकिएको छैन, यसै साता इन्टरनेट सेवा अवरूद्ध हुने पत्र आइसक्यो। सरकारले तुरून्तै विदेशी मुद्रा सटही सिफारिस गर्नुपर्छ।’

