काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा (एमाले)ले आफूलाई भाइ कांग्रेस बनाउनका लागि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन्।
सोमबार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको ‘साम्राज्यवादी युगमा लेनिनवादको महत्व’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गरे।
उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको जनाए।
उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिष्ट पार्टी नभएको जिकिर गरे। उनले कम्युनिष्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका जनाए।
उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए। उनले सत्ताधारी कम्युनिष्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिष्ट नाम राखेका बताए। अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने जनाए ।
उनले भने,’…त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने। दाइ कांग्रेस त छँदै छ, गतिलो भाइ कांग्रेस बन्ने। यो उद्देश्यमा आधारित छ।’