पोखरा । गण्डकी प्रदेश सभाको शुक्रबार सुरु हुने अधिवेशन आजै स्थगित हुने भएको छ ।
नेपाली कांग्रेसले संविधानको भावनाविपरीत मुख्यमन्त्री खगराज अधिकारी नियुक्त भएको र कामचलाउ सरकारले अधिवेशन बोलाएको भन्दै बैठक बहिस्कार गर्ने भन्दै सभामुख कृष्णप्रसाद धिताललाई जानकारी गराएको थियो ।
कांग्रेसले बहिस्कार गर्ने निर्णयपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन आह्वान गरेको पत्र पढेर अधिवेशन सुरू भएको जानकारी गराउने र त्यसपछि स्थगित हुने कार्यसूची तय भएको एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए ।
सभामुखकोसमेत मत प्रयोग गरेर चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै २९ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए ।
सर्वोच्चले ७ गतेभित्र मुख्यमन्त्री नियुक्त हुँदाको सक्कलै कागजात पेश गर्न आदेश दिँदै यो मुद्दामा १० वैशाखदेखि सुनुवाइ सुरु गर्ने भएको छ । सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न आदेश दिँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले असहमति जनाएको थियो ।
मुख्यमन्त्री खगराजले १० गतेअगावै विश्वासको मत लिने तयारी गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । तर, विश्वासको मत प्राप्त हुने स्थिति नदेखेपछि पछि हटेका छन् ।