जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।
दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले अर्को मन्त्रालयको माग गर्दै आएको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो । लगत्तै जनमत पार्टीका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक अझै सुरू भएको छैन । प्रदेश सभा बैठक चलाउन यतिबेला सर्वदलीय बैठक बसिरहेको छ ।
१ सय ७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९र९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एकरएक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक रहेकाे छ ।