काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् ।
मंगलबार हुने उद्घाटन कार्यक्रमका बेला दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइनेछ । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुनेछन् ।
परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने दीप प्रज्ज्वलन कार्यक्रमको संयोजन गरिरहेको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले जनाएका छन् । चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेसाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन् ।
पलेसा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेसाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेसाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । मंगलबारदेखि सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।